काठमाडौं । काठमाडौंको टुँडिखेलमा देउडा नृत्य र झाँकी प्रस्तुत गर्दै गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थायी घर भई अध्ययन, रोजगारीसहित विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएकाहरुले आइतबार हर्षाेल्लासका साथ टुँडिखेलमा गौरा पर्व मनाएका हुन् ।
प्रशंसा संरक्षण समूहद्वारा आयोजित कार्यक्रममा गौरा माताको प्रतिमा शिरमा राखेर देउडा, ठाडो खेल, छलिया नृत्य, हुड्के नाचसहित गौरा पर्व मनाइएको छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने चलन छ । पछिल्ला वर्षमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशबाट आएर काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकको सङ्ख्या बढ्दै गएपछि राजधानीमा गौरा पर्व धुमधामका साथ मनाउन थालिएको हो । राजधानीमा २०५२ सालदेखि गौरा पर्व मनाउन थालिएको हो । गौरा पर्व २०५४ सालदेखि नियमितरूपमा टुँडीखेलमा मनाइँदै आएको छ ।