काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नीतिगत सुधार भएमा निजी क्षेत्र आफैँ लगानी गर्न आउने बताएका छन् ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश योजना आयोगका सदस्यसहित आइतबार भएको छलफलमा उनले नीतिगत सुधारमा ध्यान दिन आग्रह गरे । साथै, उनले प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको बताए । चेम्बरले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने उनको भनाइ छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजीकरण, प्रचारप्रसारलगायतका विषयमा सहयोग गर्ने जनाएको छ । अध्यक्ष अग्रवालले सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक स्रोतको अथाह सम्भावना रहेको बताए । ‘नीतिगत सुधार भयो भने निजी क्षेत्र आफैँ लगानी गर्न आउँछन् । प्रदेशमा लगानी प्रतिफलको सुनिश्चितता हुने गरी नीतिहरु बन्न आवश्यक छ , पानी र लगानी एउटै प्रकृतिको हुन्छ जता ओरालो रहन्छ उतै बग्ने गर्दछ’, उनले भने ।
सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत्, कृषि उत्पादन, पर्यटन र सीमा–पार व्यापारमा उच्च सम्भावना रहेको छ । पञ्चेश्वर, कर्णाली र पश्चिम सेतीजस्ता जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अध्यक्ष अग्रवालले बताए । प्रदेश कृषि–प्रधान भएकाले धान, मकै, गहुँ, फलफूल, मसला तथा जडीबुटीमा आधारित उद्योग, प्रशोधन र निर्यात–केन्द्रित लगानी आकर्षण गर्न सकिने चेम्बरले उल्लेख गरेको छ ।
लगानी सम्मेलनमा नीति तथा लगानीमैत्री वातावरण निर्माण गर्न कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाव दिएको छ । वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा हुने चेम्बर अध्यक्ष अग्रवालले बताए । २००७ सालमा स्थापना भएको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक तथा औद्योगिक गतिविधि विस्तारलाई सधैँ उच्च प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि चेम्बरको सहयोग महत्वपूर्ण रहेको बताए । साथै, उनले सहकार्यका लागि प्रस्ताव समेत गरे । उनले प्रदेशमा पहिला आन्तरिक लगानीको वातावरण तय गरेर मात्रै बाह्य लगानीका लागि सरकारले पहल गर्ने बताए । प्रदेशमा लगानीको अथाह सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहले रोजगारी सिर्जना र छिमेकी देशको बजारमा सुदूरपश्चिमको उत्पादनहरु पुर्याउने लक्ष्य रहेको बताए । चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रदेशमा बाँझो जमिनलाई सदुपयोग गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए । विदेशबाट सीप सिकेर फर्किएका युवाहरुको लगत संकलन गरी प्रदेश सरकारले लाभ लिन सक्नुपर्ने उनको भनाइ छ ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले प्रदेशमा जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । साथै, खप्तड राष्ट्रिय निकुञ्ज, अपी–सैपाल हिमशृंखला, बैजनाथ धाम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता स्थलले इको–टुरिजम, धार्मिक र साहसिक पर्यटनमा लगानीको अवसर रहेको अध्यक्ष अग्रवालले बताए ।