काठमाडौं । एनआईबीएल एस क्यापिटलले पायोनियर ल एसोसिएट्स र आइक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा रोड टु आईपीओ नामक कार्यशालामा सफलतापूर्वक आयोजना गरेको जानकारी दिएको छ । उक्त कार्यक्रममा विशेषगरी कर्पोरेट संथाका सहभागीहरूलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रक्रियामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन एमआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले गरे । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दीर्घकालीन रणनीतिलाई आकार दिई पुँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए । पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेतीले सार्वजनिक निष्काशनका कानुनी पक्षहरू र यसका लागि प्रचलित कानुनी व्यवस्थाका महत्वपूर्ण विषयहरूमा प्रकाश पारे ।
एनआईएमबी एस क्यापिटलका लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरू, पुँजी संरचना, मूल्य निर्धारण र समयरेखाजस्ता क्षेत्रहरूमा चर्चा गरे । यसका अतिरिक्त आइक्रा नेपालका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे । यस पहलकदमीमार्फत एनआईएमबी एस क्यापिटल र पायोनियर ल एसोसिएट्सले वित्तीय साक्षरता प्रवर्द्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने, र नेपाली व्यवसायहरूलाई सूचीकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरे ।