धनगढी । धनगढीमा ठाउँठाउँमा मार्टहरु सञ्चालनमा आएपछि यहाँका ग्राहकको रोजाइमा पर्न थालेका छन् । धेरै सामानहरु एकै ठाउँबाट पाइने भएपछि ग्राहकको रोजाइमा मार्टहरु पर्न थालेका हुन् ।
कटानकी निर्मला कार्कीले हाल दैनिक उपभोग्य सामान किनमेलका लागि पसल धाउन छाडिसकेकी छन् । उनी धनगढीमा रहेका मार्टमा जाने गरेको बताउँछिन् । ‘घरायसी सामान किन्न पसल–पसल धाउनुभन्दा एउटै छानामुनि रहेको मार्टमा छिरेपछि सबै सामान त्यही पाइन्छ,’ उनले भनिन्, ‘यस्तो उखरमाउलो गर्मीमा पसल–पसल चहार्नुभन्दा मार्टमै गए सजिलो मात्रै नभई सस्तो र सुलभ सामान पाइने रहेछ ।’ उनी मात्रै होइन, धनगढी ४ की ममता जोशी पनि सामान किन्न मार्टमा जाने गरेकी छिन् । मार्टमा अन्य ठाउँको तुलनामा सस्तो पनि हुने गरेको उनले बताइन् । ‘अन्य खुद्रा पसलमा गएर सामान किन्दा बार्गेनिङ गर्नुभन्दा एउटै छानामुनि सबै सामान सस्तो दरमै पाइने गरेको छ,’ उनले भनिन्, ‘त्यसैले पनि म अचेल सामान किन्न मार्टमै छिर्ने गरेकी छु ।’
धनगढीमा पछिल्लो समयमा एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन् । मार्ट सञ्चालनमा आउन थालेपछि यहाँका ग्राहकको रोजाइमा पनि पसल पसल डुलेर सामान किन्नुभन्दा एउटै छानामुनि सबै सामान पाइने मार्ट पर्न थालेका हुन् । धनगढीमा ओम ट्रेड सेन्टर, चौलानी डिपार्टमेन्ट स्टोर, चौलानी मार्ट, भूमिराज मार्ट, साथी मार्ट, बीबी मार्ट, हेलो मार्ट सञ्चालनमा आएका छन् । धनगढीको भर्जिन मार्केटलाई लक्षित गर्दै पछिल्लो समयमा काठमाडौंको भाटभटेनीले पनि आफ्नो शाखा सञ्चालनमा ल्याउन भवन निर्माण गरिरहेको छ ।
धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र रहेको र यहाँ व्यापार व्यवसायको अथाह सम्भावना रहेको बीबी मार्टका सञ्चालक हरिष चटौत बताउँछन् । ‘यहाँ ठाउँठाउँमा मार्टहरु खुल्न थालेका छन्,’ उनले भने, ‘मार्ट संस्कृतिको विकास हुनुका साथै समय अभाव तथा व्यस्त जीवनशैलीका कारण मार्ट संस्कृति मौलाउन थालेको छ ।’ परम्परागत व्यापार व्यवसायलाई परिमार्जन तथा परिवर्तन गर्दै अहिले यहाँका व्यापारीहरुले पनि मार्ट ‘कन्सेप्ट’ सञ्चालनमा ल्याउन थालेको उनी बताउँछन् ।