काठमाडौं । नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै आकर्षक गन्तव्य बनाउने उद्देश्यसहित पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा पहिलोपटक ‘डिजिटल नोम्याड समिट– बेसक्याम्प नोम्याड’ आयोजना गरेको हो । अगस्त २७ देखि ३१ सम्म सञ्चालन भएको नोम्याड बेसक्याम्पमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो पहल नेपाल पर्यटनको नयाँ अध्याय भएको बताए । हालैका वर्षमा ‘रिमोट वर्क’ र ‘डिजिटल नोम्यनडिज्म’को प्रवृत्तिले विश्वकै काम गर्ने ढाँचा परिवर्तन गरेको उल्लेख गर्दै सीईओ जोशीले नेपाल यसका लागि आदर्श गन्तव्य बन्न सक्ने उल्लेख गरे । ‘प्राकृतिक सुन्दरता, सांस्कृतिक गहिराइ, मानवीय आतिथ्य र सुरक्षित वातावरणका कारण नेपाल डिजिटल नोम्याडहरूका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ,’ उनले भने ।
पोखरा आफैँमा विश्व ब्रान्ड बनिसकेको उल्लेख गर्दै शान्त ताल, हिमालको सौन्दर्य र जीवन्त जीवनशैलीसहित यसलाई प्रविधि–मैत्री संरचना, को–वर्किङ स्पेस र स्वागतयोग्य वातावरणसँग जोड्दा डिजिटल नोम्याड्सका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उनले बताए । पहिलो डिजिट नोम्याड समिटमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल नोम्याड र ४० भन्दा बढी नेपाली सहभागी भएका छन् । यसले नेपाल केवल भ्रमणको गन्तव्य मात्र नभई सिर्जना, सहकार्य र नयाँ अर्थतन्त्रमा योगदान गर्ने थलोको रूपमा स्थापित हुन सक्ने सन्देश दिएको छ ।
सम्मेलनमार्फत् नेपालले एसियामा डिजिटल नोमाडिज्मको नेतृत्व गर्न सक्ने सम्भावना देखिएको र यसलाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाइने प्रतिबद्धता गरिएको छ ।