काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल रुपान्तरण भएर महासंघ बन्ने भएको छ । यसका लागि नाडाले विशेष साधारणसभा आह्वान गरेको छ ।
नाडाको भदौ ८ गते बसेको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गरेको थियो । उक्त निर्णयलाई पारित गर्नका लागि नाडाले भदौ २४ गते ललितपुरमा विशेष साधारणसभा बोलाएको हो । केन्द्रीय कार्यसमितिका यस्तो ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजानका लागि विशेष साधारणसभामा उपस्थित हुन नाडाका सदस्यहरुलाई महासचिव सुरेन्द्र कुमार उप्रेतीले आग्रह गरेका छन् । सदस्यहरूको लामो समयदेखिको इच्छा, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविकरुपमै राष्ट्रियस्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हकहितको समेत समुचितरुपमा संरक्षण हुने महासचिव उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।