मोरङ, कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक सेवा आयोगले आर्थिक बर्ष २०८१र८२ को बार्षिक प्रतिवेदन आज बुझाएको छ ।प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले छैटौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको सार्वजनिक प्रशासन सेवा सञ्चालनका निम्ति आयोगले गर्दै आएका काम कारबाहीप्रति जनताको विश्वास रहेको उल्लेख गरे। उनले आयोगले गर्र्ने दरखास्त आव्हान, परीक्षा, उम्मेद्वार छनोटलगायत सम्पूर्ण क्रियाकलापप्रति जनताको भरोसा रहेको स्पष्ट पारे ।
प्रमुख खापुङले नेपालको संविधान र ऐन, कानुनअनुसार आयोगले समावेशी, योग्य, दक्ष, इमानदार र अनुभवी कर्मचारीको सिफारिश गर्ने गरेकामा प्रशंसा गरे । उनले प्रविधिको प्रयोग गरी जनतालाई सेवा गर्न सक्ने कर्मचारी प्रतिस्पर्धामार्फत छनोट गर्न सुझाव दिए । सो अवसरमा आयोगका अध्यक्ष गुरागाईँले आयोगले ५७० पदका लागि ५५२ जना उम्मेद्वार सिफारिश गरिएको मध्ये प्रदेशगत रूपमा कर्णाली प्रदेशबाट सबैभन्दा बढी ३४.६ प्रतिशत सिफारिश भएको जानकारी दिए।रासस