काठमाडौं । विद्युतीय कार बीवाईडीले नेपालमा जस्तै गरी मोटर क्षमता कम देखाएर कार आयात गरेको पाइएपछि करिब तीन अर्ब रुपैयाँ तिरेको पाइएको छ ।
नेपालमा मोटर क्षमता जाँच मेसिनको अभावमा बढी मोटर क्षमताकोलाई कम क्षमताको मोटर भन्दै गाडी आयात गरेको भनेर विवादमा परेको बीवाईडीले श्रीलंकामा समेत त्यही प्रक्रिया गरेको पाइएपछि भएको छानबिनमा भन्सार विभागले सो जरिवाना तिराएको हो ।
यसअघि चीनबाट आयात हुने बीवाईडीको कारमा जासुसी चिप्सहरु राखेको पाइएको भन्दै विभिन्न मुलुकमा प्रतिबन्धमा परेको समाचारहरु बाहिरिएको थियो ।
श्रीलंकाली सञ्चारमाध्यमका अनुसार श्रीलंकामा बीवाईडीको १५० किलोवाटको एट्टोथ्रीलाई कम्पनीले १०० किलोवाट र ७९ किलोवाटको मोटरलाई ४९ को घोषणा गर्ने गरेको छ । श्रीलंकाका लागि बीवाईडीको आधिकारिक विक्रेता जेकेसीजी अटोले कारको मोटर क्षमतामा छलछाम गर्ने गरेको ती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैगरी, कम्पनीले विदेशी बजारमा ७९ किलोवाट क्षमताको डल्फिन डाइनामिकलाई कम्पनीले श्रीलंकामा ४९ किलोवाट, १५० किलोवाटको डल्फिन प्रिमियमलाई ९९ किलोवाट, १२० किलोवाटको एम सिक्सलाई १०० किलोवाट र १५० किलोवाटको सिल डाइनामिकलाई १०० किलोवाटको भनेर बेच्ने गरेको छ ।
यसपटक भन्सारमा रोकिएका गाडीहरू करिब चार सय ५० को संख्यामा एट्टोथ्री, दुई सय ५० को संख्यामा डल्फिन, दुई सयको संख्यामा एट्टोवान र एक सयकै संख्यामा एट्टोटु रहेका छन् ।
श्रीलंकाली अथोरिटीले मोटर क्षमता सुनिश्चित गर्न बीवाईडीका छवटा कार लगेको छ । नेपाल र सिंगापुरमा जस्तै कम्पनीले कम मोटर क्षमताको बीवाईडी कार बनाइदिने गरेको तर्क आयातकर्ताले अदालतमा गरेको छ ।
यता नेपालमा विद्युतीय सवारीमा भन्सार छलीको विषय राजस्व अनुसन्धान विभागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ । मोटर क्षमता कम देखाएर भन्सार छलेको विषयमा अर्थ मन्त्रालय, भन्सार विभागले अनुसन्धान गरिरहेकामा अख्तियारले पनि चासो देखाएको हो ।