बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग संगठन (एससीओ)को पूर्ण सदस्य बन्न चाहेको बताएका छन् । एससीओकै शिखर सम्मेलनका लागि चीन भ्रमणमा रहेका उनले सोमबार सम्बोधन गर्दै सन् २०१६ देखि नै नेपाल यसको संवाद साझेदार भएको बताएका थिए ।
सोही कारण पनि नेपाल यसको पूर्ण सदस्य बन्न चाहेको खुलाएका थिए । आफ्नो सम्बोधनमा उनले क्षेत्रीय सहकार्यमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै एससीओ सदस्यराष्ट्रहरुसँग नेपालको सम्बन्ध यसअघि नै रहेको बताएका थिए ।
सबै संयुक्तरूपमा काम गर्न प्रतिबद्ध भए मात्रै सुदृढ र समृद्ध एससीओ सबैको पहुँचमा हुने ओलीको भनाइ थियो । ‘नेपालले एससीओभित्र क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउन प्रतिबद्धता पुनः व्यक्त गर्दछ,’ उनले भने ।
ओलीले सम्मेलनलाई सम्बोधन गर्दै जलवायु परिवर्तनले जोखिम बढी यसको महसुस हिमाललाई मुटुमा बोकेको नेपालले महसुस गरिरहेको उल्लेख गरेका थिए ।