काठमाडौं । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । अब साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
मन्त्रालयले श्रम समझदारी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी समेत थालेको छ । सन् २०१० देखि नै साउदीसंग श्रम सम्झौताको प्रयास हुदै आएको थियो । लाखौं नेपालीको वैदेशिक रोजगार गन्तव्य रहेको साउदीसंग श्रम समझदारीपत्र गर्न बाटो खुलेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले जानकारी दिए । यो सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र इम्प्लोयर पे पोलिसी अनुसारको सुविधा प्राप्त गर्नेछन् । आगामी सबै श्रम सम्झौता पत्रमा नेपाली श्रमिकको आवश्यकता र प्राथमिकता तथा मानव अधिकारलाई केन्द्रमा राखिने मन्त्री भण्डारीको दावी छ ।
श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भिर रुपमा विश्लेषण गरिरहेको बताए । सचिव पुष्करले श्रमिक पठाउने मुलुकमा श्रम शोषण र मानव अधिकार उलंघनका विषयमा नेपाल सरकारले शून्य सहनशीलता नीति अपनाइएको बताए । नेपाल वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ्गले नेपाल–साउदी श्रम सम्झौता स्वागतयोग्य रहेको बताए । अन्य मुलुकहरुमा समेत यस्ता सम्झौता गर्न उनले सुझाव दिए ।
सन् २०३४ मा हुने फिफा विश्वकप आयोजनाको तयारीस्वरुप साउदीले विगतमा श्रम नीतिमा व्यापक सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्च मै सुधार गरिसकेको साउदीले श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको छ ।
कतारमा भएको विश्वकपमा श्रमिक शोषणको विषय अन्तर्राष्ट्रिय रुपमा उठेपछि साउदीले श्रमिकको अधिकार र सेवामा विशेष ध्यान दिएको छ । यस अघि नै ‘साउदी फण्ड’ को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिम उपलव्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसंग साझेदारी गरिसकेको छ ।