काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा रहेको उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच सोमबार प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन केन्द्रित छलफलमा मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी भएर लगानी गर्न आग्रह गरेका हुन् । लगानीमैत्री वातावरण बनाउन, सोहीअनुरुप कानुनी एवम् नीतिगत सुधार गर्न र लगानीको सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहले बताए । उनले जग्गा खरिद गरी उद्योग स्थापना गर्न नसक्ने लगानीकर्ताको भनाइप्रति समर्थन जनाउँदै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक जग्गासहित उद्योग स्थापना गर्ने स्थानसम्म बाटो, बिजुली, पानीलगायतका पूर्वाधार बनाइदिने प्रतिबद्धता समेत जनाएका छन् ।
‘उद्योगका लागि जग्गा कति चाहिन्छ भन्नुहोस् । उद्योग स्थापनाका लागि जग्गा दिने ग्यारेन्टी प्रदेश सरकारले गर्छ । बाटो, पानी, बिजुली हामी पुर्याइदिन्छौँ । लगानी तपाईंहरु गर्नुहोस्’, उनले भने । मुख्यमन्त्री शाहले लगानीमैत्री नियम, कानुन निर्माणका लागि संघीय सरकारसँगै प्रदेश सरकार, प्रदेशका सबै राजनीतिक दलहरु एकजुट रहेको भन्दै निजी क्षेत्रसँगै प्रदेश सरकार अगाडि बढ्न चाहिरहेको बताए । सो अवसरमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन सफल बनाउन परिसंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले मुलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी बढ्नुपर्ने आवश्यकता औँल्याउँदै लगानीमैत्री वातावरण, कानुन तथा नीतिगत सहजता भए प्रदेशमा लगानी आउने बताए ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले जग्गा खरिद गरी लगानी गर्न नसकिने स्पष्ट पार्र्दै प्रदेश सरकारले जग्गा, सहज एवम् छिटो प्रक्रिया अवलम्बन गरे लगानी ल्याउने प्रतिबद्धता जनाएका थिए । उनले लगानी अभिवृद्धि गर्न निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुको विकल्प कुनै पनि सरकारसँग नभएको स्पष्ट पारे । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले प्रदेशले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल बनाउन आवश्यक समन्वय गर्न परिसंघ तयार रहेको बताए । लगानी भित्र्याउन निजी क्षेत्रलाई लगानीबाहेकका अन्य प्रक्रिया, कानुनी एवम् नीतिगत सहजता सरकारले प्रदान गर्नुपर्नेमा उनले जोड दिए । उनले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वरभूमि रहेको समेत बताए ।