दोलखा । चीन सरकारको सहयोगमा दोलखाको जिरीमा रहेको जिरी माध्यमिक विद्यालयकको पुनर्निर्माण गरिएको छ । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले पूर्णरूपमा ध्वस्त बनेको जिरी माविको पुनर्निर्माण काम सकिएको हो ।
भूकम्पले ध्वस्त भएको एक दशकपछि विद्यालय भवन निर्माणको काम सकिएको छ । जिरी नगरपालिकाका वडा नम्बर–६ हाटडाँडामा अवस्थित सो विद्यालयको पुनर्निर्माणमा चीन सरकारले एक अर्ब ३९ करोड ३८ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले बताए । नवनिर्मित उक्त सुविधा सम्पन्न भवनको असोजमा उद्घाटन गर्ने तयारी छ । प्रधानाध्यापक जिरेलका अनुसार असोज महिनाभित्र विद्यालय चीन सरकारबाट औपचारिकरूपमा हस्तान्तरण हुनेछ । सोपश्चात् नवनिर्मित अत्याधुनिक भवनका कक्षा–कोठाबाट नियमित पठनपाठन हुने उनले बताए । चाइना एडमार्फत निर्माण गरिएको विद्यालय परिसरमा कुल सातवटा आधुनिक भवन रहेका छन् ।
भवनमा ४१ वटा कक्षाकोठा, छात्र तथा छात्रावास, शिक्षक आवास, सभाहल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याब, नृत्य कक्ष, चित्रकला कोठा र चमेनागृह रहेका छन् । २०८० साल वैशाख ४ गते भवन निमार्णका लागि शिलान्यास गरिएको थियो । उक्त विद्यालयको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न भएको हो । नयाँ कक्षा कोठामा विद्युतीय बोर्ड, पावरसर्किट, पर्याप्त उज्यालो र प्रत्येक विद्यार्थीका लागि डेस्क–बेञ्चको व्यवस्था गरिएको छ । प्रधानाध्यापक जिरेलका अनुसार, भवन जिरीको भौगोलिक तथा मौसमीय अवस्थालाई ध्यानमा राखी निर्माण गरिएकोले सुविधासम्पन्न मात्र नभई पर्यावरणमैत्री समेत छ । उक्त भवनले पर्यटकीय नगर जिरीलाई शैक्षिक हवको रूपमा चिनाउने अनुमान गरिएको छ ।
विद्यालयमा हाल कक्षा १२ सम्म पाँच सय ११ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दोलखाका अधिकांश पालिकाका साथै काठमाडौं, रामेछाप र सोलुखुम्बुलगायत जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । विद्यालयसँग तीन सय रोपनीभन्दा बढी जग्गा भएकाले होस्टेलमा बस्ने विद्यार्थीका लागि तरकारी उत्पादनदेखि ‘कमाउँदै पढ्ने’अभियान सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ । किवी खेतीसहित आत्मनिर्भर कृषि प्रणालीको अभ्यास गरिने विद्यालय प्रशासनले जनाएको छ ।