काठमाडौं । नेपालमा पछिल्लो समय पर्यटक आगमनको संख्या बढेको छ । सन् २०२५ को अगस्टमा ८८ हजार छ सय ८० पर्यटक आगमन भएको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको छ । बोर्डको सोमबारको तथ्याङ्कअनुसार भारतबाट ३५ हजार पाँच सय पाँच अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात हजार पाँच सय ३३ अर्थात् आठ दशमलव पाँच प्रतिशत, अमेरिकाबाट छ हजार ६८ अर्थात् छ दशमलव आठ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार नौ सय ५६ अर्थात् छ दशमलव सात प्रतिशत र बंगलादेशबाट चार हजार दुई सय ६२ अर्थात् प्रतिशत पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार क्षेत्रगतरुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार एक सय ३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार सात सय ७७ अर्थात् १७ दशमलव आठ प्रतिशत, युरोपबाट ११ हजार एक सय ३२ अर्थात् १२ दशमलव छ प्रतिशत र ओसनियाबाट दुई हजार चार सय ३५ अर्थात् दुई दशमलव सात प्रतिशत पर्यटक भित्रिएका छन् ।
त्यसैगरी, अमेरिकाबाट सात हजार दुई सय ९३ अर्थात् आठ दशमलव दुई प्रतिशत, मध्यपूर्वबाट नौ सय ४४ अर्थात् एक दशमलव एक प्रतिशत, अफ्रिकाबाट तीन सय २२ अर्थात् शून्य दशमलव चार प्रतिशत र अन्य मुलुकबाट तीन हजार छ सय ४० अर्थात् चार दशमलव एक प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार एक सय ९३ पर्यटक भित्रिएका थिए ।