काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिदार्थ बैंक र सानिमा बैंकसंहित पाँच बैंकहरुले सात अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्नेगरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत् परियोजना आउने भएको छ । सोमबारको दिनप्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालि एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । उक्त परियोजना लुम्बीनी प्रदेश, रुकुमूर्व जिल्लाको सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करिब नौ अर्ब ६० करोडमध्ये बैंकहरुले ७५ः२५को ऋणः स्वपुँजी अनुपातमा सात अर्ब २० करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनलबाट दुई अर्ब ५० करोड, नबिल बैंकबाट एक अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट एक अर्ब २० करोड, सिदार्थ बैंकबाट एक अर्ब र सानिमा बैंकबाट एक अर्ब रुपैयाँ लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माणसम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बाफिकोटस्थित सबस्टेसनमा जोडिनेछ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घन्टा र वर्षायाममा १८२.११३ गिगावाट गरी वार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जामार्फत जलविद्युत्लगायत हरित ऊर्जा क्षेत्रमा उल्लेख्यरुपमा लगानी गर्दै आएको र बैंकिङ क्षेत्र एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई सञ्चालनमा आएका कारण देशको समग्र ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए । हालसम्म निर्माण सम्पन्न भएका १६६.४०१ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना र निर्माणाधिन १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा जलविद्युत् आयोजनासहित जम्मा १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत् आयोजनामा यस बैंक को लगानी रहेको छ ।
सिटिजन्स बैंकले हालसम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंकका रुपमा र चारवटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । प्रवर्द्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालिका तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी सकिएकोले आयोजना तत्काल निर्माण सुरु गरी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको छ । बैंकले हाल देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६९ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट १९ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।