काठमाडौँ , चिनी प्रकरणमा संलग्न भएको आरोप लागेपछि सशस्त्र प्रहरी बल मुख्यालयले एकैपटक ठूलो कारबाही गर्दै उपरीक्षक (एसपी), नायव उपरीक्षक (डीएसपी)सहित १६ जना सशस्त्र प्रहरी अधिकारी र जवानलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ। राजस्व संकलनमा लापरबाही देखिएको भन्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटका गणप्रमुख एसपी सन्तोषकुमार बस्नेतलाई फिर्ता बोलाइएको हो। उनको स्थानमा मुख्यालयले अर्का एसपी रामहरि अधिकारीलाई खटाएको छ। मुख्यालयले आइतबार एसपी बस्नेतसँगै कैलालीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरका डीएसपी नविन चन्दलाई पनि कारबाहीस्वरूप फिर्ता बोलाएको छ। यस्तै सातजना निरीक्षकसहित विभिन्न बोर्डर आउट पोस्ट (बीओपी) र सुरक्षा बेसमा कार्यरत अन्य अधिकारी र जवानहरूलाई पनि जिम्मेवारीबाट हटाइएको छ। कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै बारा जिल्लामा कार्यरत सशस्त्र प्रहरी रहेका छन्। बारा कबहीगोठ, झिटकैया, बलिरामपुर, छतवा र झरखोर पोस्टमा कार्यरत निरीक्षकदेखि सहायक निरीक्षकसम्मका अधिकारीलाई मुख्यालयले फिर्ता बोलाएको हो। यसैगरी पर्सास्थित प्रसौनी भाठा र दक्षिण झिटकैया बीओपीका निरीक्षकहरू, बहुअर्वा भाठा र जयमंगलापुर सुरक्षा बेसका नायव निरीक्षकहरू, पश्चिम नवलपरासीको भुजहवा, कुसुमघाट र फूलबारी बीओपीका निरीक्षकहरू तथा कञ्चनपुरको डोकेबजार बीओपीका निरीक्षकलाई पनि जिम्मेवारीबाट हटाइएको छ। रौतहटका एसपी बस्नेतमाथि सशस्त्र प्रहरी बलकै टोलीले बरामद गरेको ७०० बोरा चिनीमध्ये ६०० बोरा गायब भएको गुनासो आएपछि छुट्टै छानबिन भइरहेको छ। सो प्रकरणमा डीएसपी अमर लामामाथिसमेत छानबिन सुरु भएको मुख्यालयले जनाएको छ। मुख्यालयका अनुसार केही जिल्लाका सशस्त्र प्रहरी बलका प्रमुख तथा बीओपी प्रमुखले राजस्व संकलनमा सन्तोषजनक काम नगरेको भन्दै थप कारबाहीको तयारी समेत सुरु गरिएको छ।