काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणाली (एफएनआरटीएस)मार्फत गर्ने भएको छ । विभागले मंगलबार सूचना जारी गर्दै विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने बताएको हो ।
विभागको महानिर्देशक रामचन्द्र तिवारीले विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको जानकारी दिए । विकसित प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास लिइएको छ ।
अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने एवम् नेपाली नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्ने कार्य अध्यागमन प्रशासनको प्रमुख कार्य भएको उनले बताए ।
नेपाल समेत सहभागी भएका धेरै अन्तर्राष्ट्रिय कानुन र प्रबन्धहरुले सबै सदस्य राष्ट्रहरुलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व सिर्जना गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय दायित्व र प्रतिबद्धताहरुप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको विकास गरेको बताएको छ ।
यस प्रणालीको कार्यान्वयनमार्फत् नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपतकालीन अवस्थामा खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुनेछ । त्यस्तै, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदानको प्रक्रियालाई प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्नेछ ।
विभागले यस प्रणालीलाई पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्यरुपमा लागू गर्नेछ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गर्नेछ ।
यसका साथै विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्यरुपमा आबद्ध हुन अनुरोध गरेको छ । प्रणालीमा दर्ता हुने प्रक्रियाका लागि विभागको वेवसाइटको प्रयोग गर्न आग्रह गरिएको छ । दर्ता तथा अनुगमन विद्युतीय प्रणालीको आवश्यक जानकारी लिनका लागि विभागको सूचना प्रविधि शाखाले सहयोग गर्नेछ ।
उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका अनुगमन समितिहरुलाई पत्राचार गरिसकिएको छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् नियमितरुपमा अनुगमन गरिने बताइएको छ । अध्यागमन नियमन, यात्रुहरुको स्वतन्त्र र सुरक्षित आवागमन एवम् पर्यटन प्रबर्द्धनका बीच कुशल संयोजन कायम गरी राष्ट्रिय सुरक्षा र सुशासन प्रवर्द्धन गर्ने दिशामा अध्यागमन विभागले कार्य गरिरहेको हुँदा पछिल्लो समय उक्त प्रणाली लागू गरिएका जनाइएको छ ।
मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मसम्मानको अभिवृद्धि, पर्यटन प्रवर्द्धन र वैदेशिक लगानी प्रवद्र्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरु राज्यको जानकारीमा हुनुपर्ने भन्दै विभागले उक्त काम अघि बढाएको हो ।