काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘इम्पावरिङ लिडरसिप इन बागमती : अ सेमिनार फर पर्फरमेन्स एन्ड एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको हो ।
सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको बैंकले बताएको छ । हालै मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरतास्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ र अरु प्रदेशहरूमा पनि यसैगरी क्रमशः आयोजना गरिने बैंकले उल्लेख गरेको छ । बागमती केन्द्रित भएको यो कार्यक्रमजस्तै अन्य प्रदेशमा पनि गरिने योजना रहेको बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
समीक्षा अवधिभरमा बैंकको कर्जा प्रवाहमा ११ दशमलव १५ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसअघि २०८०–८१को असार मसान्तमा यो रकम एक खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११ दशमलव ६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल दुई खर्ब १४ अर्ब आठ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद ब्याज आम्दानीमा ११ दशमलव २० प्रतिशतको वृद्धि हुँदै यो रकम छ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर शून्य दशमलव ५५ प्रतिशत र पुँजी प्रतिफल दर पाँच दशमलव ८१ प्रतिशत कायम भएको छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन–पे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा कार्यालय, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ एकाइहरूबाट १९ लाख २९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।