काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच व्यावसायिक साझेदारीसम्बन्धी छलफल भएको छ । सहकारी ऐन २०७४मा भएको व्यवस्थाबमोजिम सहकारीहरूको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था कार्यान्वयन तथा दुवै नियामकीय निकायहरूको आपसी सहकार्यको सम्बन्धमा छलफल गरेका हुन् ।
कार्यक्रममा सहकारी क्षेत्रको नियमन, अनुगमन, लेखापरीक्षण, सूचना आदानप्रदान तथा सहकार्यका विविध पक्षहरूमा गहन छलफल गरिएको थियो । छलफलमा संस्थाका तर्फबाट अध्यक्ष निलबहादुर सारु मगर, उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, पार्षद् सदस्यहरू, कार्यकारी निर्देशक तथा निर्देशकको उपस्थिति रहेको थियो । प्राधिकरणको तर्फबाट अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सदस्य सीए महेश खनाल तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष तथा सदस्यहरूले प्राधिकरण स्थापना हालै मात्र भएकोले यसको कार्यसम्पादनमा संस्थाको सहयोग अत्यावश्यक रहेको तथा संस्था र प्राधिकरणबीचको सम्बन्ध तथा समन्वयको क्षेत्र स्पष्ट तोकिएकोले आपसी सहकार्य अत्यावश्यक रहेको विचार व्यक्त गरे । साथै प्राधिकरणको क्षेत्राधिकारअन्तर्गत २० हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था पर्ने र तिनीहरूको प्रभावकारी सुपरिवेक्षण, अनुगमन तथा सदस्यहरूको बचतको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य रहेको, सहकारी ऐनले प्रदान गरेका अधिकारहरू पर्याप्त भए पनि प्राधिकरणसँग संस्थागत तथा प्राविधिक क्षमता अभाव रहेको उल्लेख गर्दै, समन्वय र सहकार्यमार्फत कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । उहाँहरूले नेपाल चार्र्टर्ड एकाउन्टेन्ट्स संस्थासँग नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्नको लागि रोस्टर तयार गर्ने, सोसम्बन्धी शुल्क निर्धारण गर्ने, सहकारी क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदनमान लागू गर्नेलगायत क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सहयोगको अपेक्षा गरे ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का अध्यक्ष सीए निलबहादुर सारु मगरले आईक्यान र प्राधिकरणबीच सहकारी ऐनको व्यवस्था कार्यान्वयन गर्न तथा प्राधिकरणसँग जनशक्ति विकास, ज्ञान तथा सीपको आदानप्रदान, प्राविधिक तथा अन्य विषयमा आपसी सहकार्य र समन्वय गर्न सकिने र यसको लागि दुई नियामकीय निकायहरूबीच समझदारी गरेर औपचारिकरूपमा अगाडि बढ्न उपयुक्त हुने धारणा राखे । संस्थाको तर्फबाट आईक्यानले सदस्यहरूलाई रोस्टरमा समावेश गरी बचत तथा ऋण सहकारीहरूको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्न प्रेरित गर्नसक्ने तथा यसबाट प्राधिकरणको जनशक्ति तथा प्राविधिक क्षमताको प्रश्न सम्बोधन हुने, सहकारी ऐनमा भएका कतिपय विषयहरू संशोधन हुनुपर्ने, सहकारीहरूलाई नियमन गर्ने थुप्रै निकायहरू भए पनि प्रभावकारी सुपरिवेक्षण तथा नियमन हुन नसकेकोले हालको समस्या देखापरेको जस्ता धारणा व्यक्त गरे ।
अन्त्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच निकट भविष्यमा समझदारी गर्ने, संस्थाको सदस्यहरूबाट सहकारी संस्थाहरूको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने/गराउने तथा आपसी सहयोग, सहकार्य र समन्वयको लागि छुट्टै विशेष संयन्त्र/स्टेरिङ कमिटी गठन गर्ने सहमति भएको छ ।