काठमाडौं । पठाओ नेपालले ‘पठाओ दशैँ महोत्सव–२०८२’ सुरु गरेको छ । कम्पनीका अनुसार महोत्सव सोमबारदेखि सुरु भएको छ । महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुनेछ ।
यस विशेष अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । दशैँ महोत्सव अहिलेका लागि काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिएको भए पनि सहभागिताको स्तर हेरेर यसलाई भविष्यमा विस्तार गर्ने तयारी रहेको बताइएको छ । महोत्सव अवधिभर चालकहरूलाई दैनिक एक प्रतिशतसम्म कमिसन छुट उपलब्ध हुनेछ । यसअनुसार अधिक राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः एक प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टीभीएस रेडियन एफआई मोटरसाइकल जित्ने अवसर पाउनेछन् । यसका लागि सहभागीहरूले २१ दिनभित्र कम्तीमा एक सय ७० राइड/डेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिसन रेट वा सक्सेस रेट न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने सर्त तोकिएको छ । यस्तै, महोत्सव अवधिभर पठाओ राइडर बन्न इच्छुक नयाँ सहभागीहरूका लागि निःशुल्क दर्ता सुविधा पनि उपलब्ध गराइएको छ । पठाओ नेपालले दशैँ महोत्सवलाई रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानीमा नयाँ स्तर थप्ने उद्देश्यसहित अघि सारेको जनाएको छ ।