काठमाडौं । भारतीय बाबुका छोरा भएर पनि उमेर ढल्किएपछि सप्तरी जिल्ला प्रशासनबाट वंशजको आधारमा नेपाली नागरिकता लिएको र नियमविपरीत रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट त्यसको प्रतिलिपि निकालेर करेन्ट चाउचाउ उत्पादन गर्ने यसोदा फुड्स प्रालिलगायतका उद्योगहरु सञ्चालन गर्दै आएका कमल किशोर मालपानीको नेपाली नागरिकता शंकास्पद रहेको पाइएको छ ।
२०१९ सालमा सप्तरीमा जन्मिएको भनिएका मालपानीले २०५४ सालमा ३५ वर्षको उमेरमा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन् र २०७१ सालमा त्यसको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएका हुन् । प्राप्त प्रतिलिपिमा उनको बाबुको नाम बालकृष्ण मालपानी उख्लेख गरिए पनि आमाको नाम खाली राखिएको छ ।
सामान्यतया एउटा जिल्लाबाट जारी भएको नागरिकता अर्को जिल्लाबाट प्रतिलिपि लिने अधिकार सामान्य नागरिकलाई छैन । तर, कर्मचारीले भने यस्तो सुविधा पाउँछन् । नेपाल सरकारको कुनै कर्मचारी नै नभए पनि एक जना व्यापारीले भने एउटा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि अर्को जिल्लाबाट लिएको पाइएको छ ।
यशोदा फुड्स, श्रीराम टोबाकोलगायत कम्पनीका मालिक कमलकिशोर मालपानीले लिएको नागरिकता शंकास्पद रहेको हो । उनले सुरुमा सप्तरीबाट ४८२० नम्बरको नागरिकता लिएको देखिन्छ । त्यसपछि सोही नागरिकता नम्बरको आधारमा रुपन्देहीबाट अर्को प्रतिलिपि लिएको पाइएको हो । उनले रुपन्देहीबाट लिएको नागरिकता ३७—०२—७१—१३६५८ नम्बरको हो । यो नागरिकतालाई शंकास्पदरुपमा हेरिएको छ ।
सुरुमा सप्तरीको हनुमाननगर गाविस ५ स्थायी ठेगाना देखाएर नागरिकता लिएका मालपानीले पछि भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट प्रतिलिपि निकालेका छन् । जानकारहरुका अनुसार यसरी नागरिकता निकाल्ने सुविधा आम नागरिकलाई छैन । तर, मालपानीलाई भने व्यापारी भएकै कारण यस्तो सुविधा दिइएको हो । बुटवलस्थित श्रीराम टोबाकोमार्फत १० करोड बिगोसहित राजस्व छलीमा मुद्दा चलेका मालपानी अदालत सेटिङमा रिहा भएका पात्र हुन् ।
नागरिकता शंकास्पद भएका मालपानीको श्रीराम टोबाकोमा चार लाख ५० हजार कित्ता सेयर रहेको देखिन्छ । त्यस्तै, यशोदा फुड्सको सेयर लगतमा पनि उनको नाममा आठ लाख ७५ हजार सेयर देखिन्छ । मालपानीको कम्पनीमा विवादास्पद व्यापारी दिपक भट्ट समेत प्रवेश गरेका छन् । उनको हिमालयन एसेस्ट्स नामक कम्पनीले तीन करोड ३५ लाख रुपैयाँको सेयर पाएको छ । उनी नागरिकतासम्बन्धी मुद्दा मिलाउने सर्तमा यो कम्पनीमा प्रवेश गरेको आरोप छ ।