दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–४ काब्रे उनियाचौरका स्थानीयले सामान्य लगानीमा गरिएको गोलभेँडा खेतीबाट लाखौँ आम्दानी गर्दै आएका छन् । यहाँका स्थानीयका बारीका पाटैभरी गोलभेँडाका टनेलले भरिएका छन् ।
१८ घरपरिवार रहेको यस गाउँबाट एक सिजनमा एक करोड पाँच लाख बराबरको गोलभेँडा बिक्री हुने गरेको कृषक चन्द्रबहादुर दाहालले बताए । उनी विगत दुई दशकदेखि टमाटरको खेतीमा सक्रिय छन् । २०६२ सालमा पहिलोपटक प्लास्टिकको टनेलमा टमाटरको खेती भित्र्याएका दाहालका अहिले ३० वटा टनेल छन् भने गाउँभर दुई सय बढी गोलभेँडाका टनेलहरु रहेका छन् । भारतमा मजदुरी गरेर बसेका उनी २० वर्ष अगाडि भारत नजानेगरी फर्केका थिए । उनले भने, ‘त्यहाँ महिनौं नाम्लो बोक्दा पनि सोचेजस्तो कमाइ नहुने तथा त्यहाँका व्यापारी, साहुले नेपालीलाई हेप्ने गरेको देखेपछि त्यहाँ बस्न नसकेर गाउँ फर्केर कृषिमा जोडिएको थिएँ ।’ बिस्तारै आफूले गाउँमै आम्दानी गरेको देखेर गाउँका अन्य दाजुभाइले पनि भारत जान छाडेर गाउँमै टमाटर खेती गर्न थालेको उनले बताए ।
दाहालले एक हजार रुपैयाँ लगानी गरेर दुई ओटा गोलभेँडाको प्लास्टिक टनेल बनाएर खेती सुरु गरेका थिए । उनका अनुसार गाउँका स्थानीयले मौसमी र बेमौसमी गरेर दुई सिजनमा गोलभेँडा उत्पादन गर्दै आएका छन् । अहिले गोलभेँडा उत्पादन र बिक्रीको लागि मुख्य सिजन भएको उनी बताउँछन् । उनले वार्षिक सात लाख रुपैयाँ बराबर गोलभेँडाबाट आम्दानी लिने गरेको बताए । कम जनशक्ति, थोरै लगानीबाट राम्रो आम्दानी टमाटर खेतीबाट लिन सकिने उनले सुनाए ।
गाउँमा एक लाखदेखि आठ लाखसम्मको टमाटर बिक्री गर्ने कृषक रहेका छन् । यहाँको टमाटरको मुख्य बजार चरिकोट, जिरी, मैनापोखरी र रामेछापको मन्थली हुने गरेको छ । सुरुमा सिँचाई अभावले खेती गर्न केही समस्या भए पनि हाल त्यो समाधान भएको यहाँका कृषक बताउँछन् । वैतेश्वर गाउँपालिकाले गाउँ नै तरकारीमा लागेको देखेपछि खानेपानी र सिंचाइको व्यवस्थापन गरिदिएको छ । सिंचाइ पुगेपछि उत्पादनमा समेत वृद्धि भएको छ । यहाँ उत्पादन हुने गोलभेँडा अन्य ठाउँको भन्दा विषादी मुक्त र अर्गानिक रहेको कृषकहरुको दाबी छ । साथै, उत्पादनले बजार पनि सहजै पाउने गरेको उनीहरु बताउँछन् ।