काठमाडौं । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई लगानीको लागि सर्त नै सर्त तेर्स्याएको छ । बीमा कम्पनीहरुले बीमितहरुबाट संकलन गरेको कुल बीमाशुल्क रकम संस्थागत निक्षेपको रुपमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त संस्थाहरुमा संस्थागत निक्षेपको रुपमा लगानी गर्दै आएका छन् । यसबाहेक शिक्षा, स्वास्थ, पूर्वाधार, जलविद्युत्, सरकारी सुरक्षण आदिमा समेत लगानी गर्दे आएका छन् ।
उक्त लगानीलाई व्यवस्थित र सुरक्षित गर्न थप व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बिमकको लगानीसम्बन्धी निर्देशन, २०८२’ जारी गरेको हो । मङ्गलबार जारी गरेको निर्देशनअनुसार बिमकले ‘लगानी नीति’ सञ्चालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ ।
त्यसैगरी, बिमकलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, बिमकको लगानी विविधीकरण हुने गरी विभिन्न क्षेत्रमा लगानी सक्ने व्यवस्था गर्ने, बिमकको तरलता तथा सम्पत्ति र दायित्वको अवधि मिल्ने गरी लगानी व्यवस्थापन गर्ने र बिमकको लगानीसम्बन्धी आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले निर्देशन जारी गरिएको प्राधिकरणको भनाइ छ ।
‘बिमकको लगानीसम्बन्धी निर्देशन, २०८२’ मा उल्लेख भएको व्यवस्थाअनुसार बिमकलाई सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंकबाट जारी हुने ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू हुने छैन । जीवन, निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बिमकले प्राधिकरणबाट पूर्वस्वीकृति लिएर कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृह तथा शीत भण्डारण गृह, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण, शिक्षा तथा स्वास्थ्य र लगानी कम्पनीलगायतका क्षेत्रमा व्यवसाय गर्नका लागि कुल लगानीको बढीमा पाँच प्रतिशत रकमसम्म सहायक कम्पनीमा लगानी गर्न सक्ने व्यवस्था पनि प्राधिकरणले गरेको छ ।
बिमकको सञ्चालक समितिका अध्यक्ष वा सदस्य वा निजका एकाघरपरिवारका सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको हुनुपर्ने, आफैँले संस्थापना गर्ने सहायक कम्पनीमा लगानी गर्नका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त गरेको मितिले एक महिनाभित्र लगानी गरिसक्नुपर्ने, सहायक कम्पनीले निष्काशन गर्ने कुनै पनि सुरक्षणपत्रहरु तथा उपकरणमा बिमकले लगानी गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।
निर्देशनअनुसार बिमकले घरजग्गा व्यवसायमा रहेको लगानीको कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक मूल्याङ्कन गर्नुपर्ने, कुल लगानीका आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको हुनुपर्नेछ । यसैगरी, बिमकले लगानी व्यवस्थापन गर्नका लागि लगानीसम्बन्धी कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्ने, लगानी गर्दा बीमासम्बन्धी दायित्वको अवधिलाई ख्यालगरी लगानी गर्नुपर्नेछ ।
जीवन बीमा व्यवसाय तथा लघुजीवन बीमा व्यवसाय गर्ने बिमकले आफ्नो प्रत्येक पोर्टफोलियोको जीवन बीमा कोष र उक्त पोर्टफोलियोअन्तर्गत प्राप्त प्रिमियमलगायतका अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पत्तिको अलग–अलग व्यवस्थापन गर्नुपर्ने पनि निर्देशन उल्लेख छ । बिमकले आफ्नो कोषमा रहेको रकममध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्नेछ भने बिमकले प्रत्येक त्रैमास समाप्त भएको सात दिनभित्र लगानीको विवरण पोर्टलमार्फत प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
केन्द्रीय बैंकको निर्देशन पालना अनिवार्य
बीमा कम्पनीले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा राष्ट्र बैंकले जारी गरेका निर्देशन पालना गर्नुपर्ने भएको छ । ‘नेपाल बीमा प्राधिकरणले विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२’ जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
यो व्यवस्थाअनुसार बीमा कम्पनीहरुले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेका निर्देशन समेत पालना गर्नुपर्नेछ । पुनर्बीमा शुल्कको विदेशी मुद्रा सटही सिफारिस माग गर्दा ट्रिटी पुनर्बीमा वा रेट्रोसेसन र ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बीमा वा ऐच्छिक (फ्याकल्टेटिभ) रेट्रोसेसन पुनर्बीमाका लागि तोकिएबमोजिमका कागजातहरु प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
प्राधिकरणका अनुसार पुनर्बीमा, रेट्रोसेसन र विदेशबाट आयात गर्ने परामर्श सेवाबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्नका लागि ‘बिमकको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशिका’ कार्यान्वयनमा ल्याइएको हो ।
निर्देशनअनुसार बिमकले विदेशी बिमक वा पुनर्बीमक वा नेपाल रहेका बिमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बिमकलाई सेवा प्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता र परामर्श सेवा लिएबापतको रकम भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्नेछ ।
निर्देशनअनुसार विदेशी बिमक वा विदेशी ब्रोकरलाई बीमाको दाबीबापतको भुक्तानी गर्दा ट्रिटी वा (फ्याकल्टेटिभ) हिसाब–किताब मिलान गरी तोकिएबमोजिमका कागजात संलग्न गरी प्राधिकरणमा पेश गर्नुपर्नेछ । बिमकले बीमाङ्कीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ सेवा तथा परामर्श सेवा शुल्क, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयरसम्बन्धी भुक्तानी र तेस्रो पक्ष सहजकर्ताका लागि निर्देशनमा तोकिएका कागजातहरु संलग्न गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।
त्यसैगरी, पुनर्बीमा वा रेट्रोसेसनबापत विदेशी मुद्रा सटही सिफारिस गर्दा प्राधिकरणले जारी गरेको ‘बिमकको पुनर्बीमा निर्देशन’बमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशनबमोजिमको रेटिङ्ग प्राप्त पुनर्बीमकका लागि मात्र सिफारिस गरिने निर्देशनमा उल्लेख छ ।
बिमकले विदेशी मुद्रा सटही सिफारिस मागका लागि पेश गरेका कागजातहरु तथा स्वीकृतिपत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ । यसैगरी, बिमकले भुक्तानी गरेको विदेशी मुद्राको विवरण तोकिएबमोजिमको ढाँचा वा प्रणालीमा प्रत्येक चौमास समाप्त भएको मितिले १५ दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्ने सर्त समेत निर्देशनमा रहेको छ ।