काठमाडौं । फोने–पे र सिटी–पेबीच सम्झौता भएको छ । सम्झौतापछि सिटी–पे वालेट प्रयोगकर्ताहरू अब फोने–पेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्यूआर नेटवर्कमा जोडिने भएका छन् । सोअनुसार सिटी–पेका ग्राहकहरूले देशभर १७ लाखभन्दा बढी व्यापारिक केन्द्रहरूमा भुक्तानी गर्न सक्नेछन् ।
फोने–पेले हाल ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था जोडेको छ र क्रमशः डिजिटल वालेट पार्टनरहरू पनि थपिरहेको छ । फोने–पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले का सिटी–पे एकीकरणले यो नेटवर्कलाई अझ समावेशी र प्रयोगकर्तामैत्री बनाउन मद्दत गर्ने बताए । सिटी–पेका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले यो साझेदारीले विशेषगरी रेमिट्यान्स प्राप्त गर्नेहरूलाई सहज र सुरक्षित कारोबार गर्न सहज बनाउने बताएका छन् । यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन सिटी–पेले फोने–पे नेटवर्कमार्फत आफ्ना ग्राहकहरूले गर्ने क्यूआर कारोबारमा विशेष पर्व–अभियान घोषणा गरेको छ ।
अभियानअन्तर्गत २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सिटी–पे वालेट प्रयोगकर्ताले यो प्लेटफर्ममार्फत कारोबार गर्दा चिट्ठा प्रक्रियामा सहभागी हुन पाउनेछन् । अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसुङ ब्रान्डको टेलिभिजन प्राप्त गर्नेछन् । विजेताहरू मासिकरूपमा घोषणा गरिने कम्पनीको भनाइ छ । सम्झौतासँगै सिटी–पेले पाँच सय रुपैयाँभन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्ने भएको छ । कम्पनीको नीतिअनुसार ग्राहकले यसलाई नगद वा तोकिएको सेवा लिन प्रयोग गर्न सक्नेछन् ।