काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।
सो अवसरमा सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको गृहसचिव दुवाडीले बताए । उनले मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको बताए । समाजमा अपराधिक गतिविधि चुनौती बन्दै गएको उल्लेख गर्दै सचिव दुवाडीले आम नागरिकलाई सुरक्षित छु भन्ने महसुश गराउनु हामी सबैको कर्तव्य भएको बताए ।
अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तरराष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । आफूले सकेको राम्रो गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक खापुङको भनाइ छ । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए ।