काठमाडौं ,सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जालमा आज रातिदेखि प्रतिबन्ध लगाउने भएको छ।बिहीबार मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको अ...
काठमाडौं ,सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जालमा आज रातिदेखि प्रतिबन्ध लगाउने भएको छ।बिहीबार मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यससम्बन्धी निर्णय गरेको हो। बैठकमा मन्त्रालयका वरिष्ठ अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण (NTA), टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
बैठकपछि मन्त्रालयले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने तयारी अघि बढाएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार, “आजै रातिदेखि लागू हुने गरी सूचीकृत नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय पारिनेछन्।” मन्त्रालयले ती कम्पनीहरूलाई आधिकारिक पत्राचार पनि सुरु गरिसकेको छ।
यसअघि सरकारले सामाजिक सञ्जाल प्लाटफर्मलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्न समयसीमा दिएको थियो। तर बुधबार रातिसम्म पनि मेटा (फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप), अल्फाबेट (युट्युब, गूगल), एक्स (पूर्व ट्विटर), रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्महरूले मन्त्रालयसँग सम्पर्क नगरेका कारण प्रतिबन्ध लगाउने निर्णय गरिएको हो।
सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने चेतावनी पहिले नै दिएको थियो।यदि ठूला कम्पनीहरूले मन्त्रालयसँग तत्काल सम्पर्क नगरेमा नेपालमा फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्सलगायतका लोकप्रिय प्लेटफर्मसमेत जोखिममा पर्ने सम्भावना बढेको छ।
दर्ता नभएका यि हुन २६ समाजिक सञ्जाल : फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड–वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल, हाम्रो पात्रो