काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न अनुदान र सहुलियत कर्जा समेतको नीति लिए पनि बैंक तथा फाइनान्स कम्पनीहरुले भने पछिल्लो वर्षहरुमा कृषि क्षेत्रमा कर्जा घटाउँदै गएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढेको र यस्तो कर्जा बढ्नु विगतमा व्यावसायिक कृषि क्षेत्रमा प्रवाह गरेको कर्जाको पनि ठूलो भूमिका रहेको भन्दै बैंकहरुले अघोषितरुपमा कृषि कर्जा घटाएका हुन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गर्ने कुल कर्जा क्षेत्रगतरुपमा कृषि, मत्स्यपालन, खानी, निर्माण, विद्युत्, यातायातसहितका १५ वटा क्षेत्रमा विभाजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल ७३ खर्ब तीन अर्ब ५३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी यी १५ वटा क्षेत्रमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो कर्जामध्ये क्षेत्रगतरुपमा कृषि तथा वनजंगलसँग सम्बन्धित क्षेत्रमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम तीन खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा सात अर्ब ५१ करोड ७० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा बैंक तथा फाइनान्स कम्पनीहरुले ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब १७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषि र वनजंगलसँग सम्बन्धित क्षेत्रमा मात्र कुल तीन खर्ब ६३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ वाणिज्य बैंकहरुले मात्र कुल ६५ खर्ब ४१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिसँग सम्बन्धित क्षेत्रमा मात्र कुल तीन खर्ब १८ अर्ब ६५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा पाँच अर्ब २९ करोड १० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिसँग सम्बन्धित क्षेत्रमा मात्र कुल तीन खर्ब २३ अर्ब ९४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरुले भने गत आवमा कुल छ खर्ब ३० अर्ब ४३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषि क्षेत्रमा मात्र कुल ३० अर्ब ५५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा दुई अर्ब ६६ करोड ७० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा विकास बैंकहरुले कुल छ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिजन्य क्षेत्रमा मात्र कुल ३३ अर्ब २२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरुले भने गत आवमा एक खर्ब ३१ अर्ब ४४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिजन्य क्षेत्रमा मात्र कुल सात अर्ब १६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा ४४ करोड १० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुले एक खर्ब २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिजन्य क्षेत्रमा मात्र कुल छ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।