काठमाडौं । थाइल्यान्डको बैंककस्थित क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा आयोजित पाटाको प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड इभेन्ट–पाटा ट्राभल मार्ट २०२५ मा ‘नेपाल पभेलियन’ मार्फत नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल एयरलाइन्स र १४ वटा निजी पर्यटन तथा आतिथ्य कम्पनीहरूसँगको सहकार्यमा पर्यटन प्रवद्र्धन गरिएको हो । मार्टमा ५० भन्दा बढी गन्तव्यबाट आएका एक हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । ३० वटा गन्तव्यका दुई सय २५ संस्थाबाट चार सयभन्दा बढी विक्रेताहरूले सहभागिता जनाएका थिए । यसमध्ये ५२ प्रतिशत बिक्रेताहरू पहिलोपटक सहभागी भएका थिए । त्यसैगरी, ४१ वटा प्रमुख स्रोतबजारका दुई सय आठ संस्थाहरुबाट दुई सय २५ क्रेताहरु उपस्थित भएका थिए, जसमा ६५ प्रतिशतले पहिलोपटक सहभागिता जनाएका हुन् ।
स्तुपा–थिममा सुसज्जित ‘नेपाल पाभेलियन’ सम्पूर्ण प्रदर्शनीबीच अत्यन्तै आकर्षक र मनमोहक बनेको थियो । पर्वतारोहण, पदयात्रा, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, समुदाय–आधारित पर्यटन र अन्य जीवन परिवर्तनकारी अनुभवहरूलगायत नेपालका विविध पर्यटन आयामहरूको प्रस्तुतीकरण गरिएको थियो । पाटा ट्राभल मार्टमार्फत आगामी वर्ष २०२६ जुन २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने नेपालकै प्रमुख अन्तर्राष्ट्रिय यात्रा तथा व्यापार प्रदर्शनी मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टको छैटौँ संस्करणको पनि प्रवद्र्धन गरिएको छ ।