काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन् ।
सिंहले विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको बताउँदै कन्या बहुमुखी क्याम्पसले विशेष गरी महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गरे । स्थापनाकालमा ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले करिब ७०० विद्यार्थीको शिक्षाको थलो बनेकाले आफैँमा एक ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले यस क्याम्पसबाट अध्ययन गरेर विद्यार्थीले देशका विभिन्न आयोग, सरकारी निकाय तथा निजी क्षेत्रसम्म सफलतापूर्वक रोजगार पाएका तत्थ्याङ्कले देखाएकाले यहाँ अध्ययन गरेका विद्यार्थी सबै क्षेत्रमा उत्कृष्ट भएको आफूले महसुस गरेको बताए । हाल क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गएकोप्रति पनि ध्यानाकर्षण गराउँदै उनले शिक्षा क्षेत्रमा थप स्तरोन्नतिको आवश्यकता औँल्याए ।
“सरकार यस क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र प्राविधिक सशक्तीकरणमा आवश्यक सहयोग गर्न तत्पर छ । यस क्याम्पसलाई अझ बलियो र आधुनिक बनाउन राज्यले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ । शिक्षाको स्तरोन्नति र गुणस्तर वृद्धिका लागि सरकारले सक्दो सहयोग गर्नेछ”, उनले भने ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थीलगायत विभिन्न शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरेको थियो भने केही प्राध्यापक र कर्मचारीलाई लामो समयको योगदानका लागि कदरपत्रसहित सम्मानित गरिएको थियो ।