काठमाडौं । गुणस्तरहीन नोट छापेको आरोपमा भारतीय कम्पनीसँगको ठेक्का रद्द गरेपछि नेपाल राष्ट्र बैंकले एक हजारको नोट छपाइका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाएको छ।राष्ट्र बैंकले ४३ करोड थान एक हजारका नोट छपाइका लागि ६ अन्तर्राष्ट्रिय कम्पनीलाई आर्थिक प्रस्ताव पेश गर्न आह्वान गरेको हो। प्राविधिक प्रस्तावका आधारमा छनोट भएका कम्पनीमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिण्टिङ कर्पोरेसन, बेलायतको डिलारु इन्टरनेशनल लिमिटेड, जर्मनीको गिजेक एण्ड डेभ्रियेन्ट करन्सी टेक्नोलोजी, रुसको ज्वाइन्ट स्टक कम्पनी गोजनाक, फ्रान्सको ओबरथुर फिडुसिएरे एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्क्स परेका छन्। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नयाँ नोट छपाइमा गुणस्तर र सुरक्षालाई प्राथमिकता दिइएको बताएका छन् । तीन वर्षअघि भारतीय कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले गुणस्तरहीन नोट छापेपछि राष्ट्र बैंकले सम्झौता रद्द गरेको थियो। स्विस विज्ञहरूसम्मको परीक्षणपछि नोटको गुणस्तर अस्वीकार्य ठहर भएपछि २०८० फागुनमा ठेक्का तोडिएको हो।नयाँ प्रस्ताव भदौ १० गते आह्वान गरिएको छ र असोज २४ गतेसम्म इच्छुक कम्पनीले आफ्नो आर्थिक प्रस्ताव पेस गर्नुपर्नेछ। यसपटक भारतीय कम्पनीलाई प्रस्तावमा सहभागी नगराइएको राष्ट्र बैंकले जनाएको छ। यसैबीच राष्ट्र बैंकले दशैँपछि चुच्चे नक्सा अंकित सयको नोट बजारमा ल्याउने तयारी गरेको छ। चीनको बैंकनोट कम्पनीले ठेक्का पाएको नोटमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा अंकित हुनेछ। समाचार स्रोतका अनुसार भारतले नयाँ नक्सा अंकित नोट र एक हजारको नोट छपाइ ठेक्कासम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय पनि राजनीतिक तहमा उठ्ने अपेक्षा गरिएको छ।