नेपालगन्ज, नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोड रुपैयाँभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र संगठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेकामध्ये सहकारीका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिक रहेका छन्। उच्च अदालत नेपालगन्जको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अदालतमा बुझाएको हो। बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास दुवैले दोषी ठहर गरेका ती व्यक्तिहरूलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। अदालतले सहकारीका तत्कालीन अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच-पाँच वर्ष कैद सजायसहित ५०-५० हजार रुपैयाँ जरिवाना तोकेको छ भने सिद्धिकुमार महर्जनलाई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ। २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा दर्ता भएको मुद्दामा ४१ जनाविरुद्ध सहकारी ऐन, ठगी र संगठित अपराधको अभियोग दायर गरिएको थियो। २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई दोषी ठहर गरेको थियो। उक्त फैसलाविरुद्ध प्रतिवादीहरूले उच्च अदालतमा पुनरावेदन गरे पनि २०८२ जेठ १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेको हो। सर्वोच्च अदालतमा जानसक्ने ३५ दिने समय सीमा सकिएसँगै प्रहरीले अदालतले दोषी ठहर गरेका व्यक्तिहरूलाई सजाय भुक्तानका लागि पक्राउ गर्न थालेको हो। सहकारी वित्तीय विकास संस्थामा ३७ करोड रुपैयाँभन्दा बढीको रकम हिनामिना भएको हुँदा अहिले पनि एक हजार ५२६ जना बचतकर्ताले आफ्नो रकम पाउन सकेका छैनन्। पीडितहरूले रकम फिर्ता नभएसम्म आफूहरूले न्याय पाएको महसुस गर्न नसक्ने गुनासो गर्दै आएका छन्।