काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन।विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका हुन । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेको उनका प्रेस संयोजक खिला कार्कीले राससलाई जानकारी दिए।
जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिएका थिए। त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।
आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालले राससलाई जानकारी दिए। उनका अनुसार आइतबार माथिल्लो टोलमा रथयात्रा गराइने छ ।
यहाी भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन्। टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।
भदौ २६ गते राति १०ः३२ बजे इन्द्रध्वज पातन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पु¥याएर सेलाउने परम्परा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिए । उनका अनुसार लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु भएको थियो । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।
इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।रासस