काठमाडौं , भुटानी शरणार्थीसम्बन्धी बहुचर्चित मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया फेरि लम्बिएको छ। बुधबारदेखि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ अघि बढ्ने अपेक्षा गरिएको भए पनि आवश्यक कानुनी प्रक्रिया नपुगे...
काठमाडौं , भुटानी शरणार्थीसम्बन्धी बहुचर्चित मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया फेरि लम्बिएको छ। बुधबारदेखि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ अघि बढ्ने अपेक्षा गरिएको भए पनि आवश्यक कानुनी प्रक्रिया नपुगेकाले सुनुवाइ स्थगित भएको हो।बुधबार न्यायाधीश धुव्रराज कार्कीको इजलासमा सुनुवाइ तोकिएको थियो। तर, प्रतिवादी शम्शेर मियाको तारिख थाम्ने अवधि अझै सकिन बाँकी रहेकाले नियमअनुसार उक्त अवधि समाप्त भएपछि मात्र सुनुवाइ अघि बढ्ने पाइएको छ ।
प्रहरीको इतिहासमै हाइप्रोफाइल मानिएको यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका तत्कालीन अध्यक्ष शम्शेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका उच्चस्तरीय प्रतिवादी छन्।
त्यस्तै, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलिया बेचन झा, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि प्रतिवादी सूचीमा छन्।हाल, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, बेचन झा, सन्देश शर्मा र प्रतीक थापा पुर्पक्षका लागि कारागारमा रहेका छन्। भने, केही प्रतिवादी अझै फरार छन्। न्यायालय स्रोतका अनुसार, कानुनी प्रक्रिया पूरा भएपछि मात्र अन्तिम सुनुवाइका लागि नयाँ मिति तोकिनेछ।