काठमाडौं । विकास बैंकहरुमा निष्क्रिय कर्जा बढेको छ । विकास बैंकहरुको पछिल्लो दुई आर्थिक वर्षको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणको तुलनात्मक अध्ययनले निष्क्रिय कर्जा बढेको देखाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरुले छ खर्ब ३० अर्ब ४३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा औषतमा पाँच दशमलव शून्य तीन प्रतिशतका दरले हुन आउने २६ अर्ब ४८ करोड ८६ लाख ३३ हजार नौ सय रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा एक दशमलव २७ प्र्रतिशत अर्थात् सात अर्ब ६३ करोड ४७ लाख ९० हजार सात सय रुपैयाँले बढी हो ।
अघिल्लो आवको सोही अवधिमा भने विकास बैंकहरुले छ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ७६ प्रतिशतका दरले हुन आउने १८ अर्ब ८५ करोड ३८ लाख ४३ हजार दुई सय रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा कामना विकास बैकमा तीन दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यो बैंकमा यस्तो कर्जाको अनुपात तीन दशमलव ३६ प्रतिशत रहेको थियो । सिन्धु, साङ्ग्रिला र ग्रिन डेभलपमेन्ट बैंकमा पनि गत आवमा क्रमशः छ दशमलव शून्य तीन, पाँच दशमलव ६४ र तीन दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी बैंकहरुमा क्रमशः १० दशमलव ६३, तीन दशमलव ९३ र तीन दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । मितेरी, शाइन रेसुङ्गा र महालक्ष्मी विकास बैंकमा पनि पछिल्लो आवमा क्रमशः शून्य दशमलव २८, चार दशमलव २४ र चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ८१, तीन दशमलव ४३ र चार दशमलव ६७ प्रतिशत रहेको थियो । ज्योति, लुम्बिनी र एक्सेलमा भने गत आवमा क्रमशः सात दशमलव ९८, चार दशमलव ५५ र छ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः पाँच दशमलव २९, तीन दशमलव २९ र छ दशमलव १६ प्रतिशत रहेको थियो ।
गत आवमा गरिमा र कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि क्रमशः चार दशमलव ७२ र १२ दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी दुई बैंकहरुमा क्रमशः चार दशमलव ८५ र ११ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । नारायणी र मुक्तिनाथ विकास बैंकमा पनि पछिल्लो अवधिमा क्रमशः ५० दशमलव ९७ र दुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः ४६ र दुई दशमलव ३७ प्रतिशत रहेको थियो ।