काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट सेतोपाटी डटकमका भट्टराई एक सय १० मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी गोरखापत्र दैनिकका विश्वास रेग्मीले ९२ मत प्राप्त गरे भने आशा थपलियाले ४१ मत पाइन् । यसैगरी, कार्यसमितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भए । समितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत एक सय ३९ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले एक सय चार मत प्राप्त गरे । यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने एक सय ३३ मतसहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी अन्नपूर्ण दैनिककी ममता थापाले एक सय आठ मत प्राप्त गरिन् । समितिको सचिवमा हिमालयन टेलिभिजनका शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन् ।
समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी), कमल धिताल (बाह्रखरी), भोजराज भण्डारी (कर्पोरेट समाचार), राजु बास्कोटा (क्लिकमाण्डु) र सीमा तामाङ (कान्तिपुर दैनिक) निर्वाचित भएका छन् । यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरेका हुन् ।
त्यस अवसरमा उनले नवनिर्वाचत कार्यसमितिले सेजनको गरिमालाई थप उँचो बनाउँदै आर्थिक क्षेत्रका मुद्दा उठानमार्फत नेपाली मिडियामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे । झाले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्नुपर्नेमा जोड दिए । सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका दुई सय ६६ जना आबद्ध छन् भने अधिवेशनमा दुई सय ४६ मत खसेको थियो ।