काठमाडौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागतरूपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व शनिबार काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइएको हो ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।
इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिएको थियो । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
इन्द्रजात्राको मुख्यदिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका थिए । राष्ट्रपति पौडेल न्युरोडस्थित जुद्ध शालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन् । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवम् दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको शनिबार मुख्य दिन हो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाश मान सिंह र विष्णुप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए ।
भदौ २६ गते राति १०ः३२ बजे इन्द्रध्वज पातन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पु¥याएर सेलाउने परम्परा रहेको छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । जात्राका अवसरमा लाखे नाच, दशावतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।