काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/०८२को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (करसहित)का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोषकुमार राठीले २० करोड चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाखभन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । त्यसैगरी व्यवसायतर्फ असार मसान्त, २०८२ सम्मआठ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फन्ड सेवाअन्तर्गत चारवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म पाँचवटा योजनामार्फत पाँच अर्ब ४५ करोडभन्दा बढी रकम यवस्थापन गर्न सफल भएको बताए ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत सात सय २० जना ग्राहकहरूबाट दुई अर्ब ७० करोडभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको पनि सभामा जानकारी दिइयो । सेयर रजिस्ट्रार सेवाअन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आइडिया टु आईपीओ सेवाअन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराए । साथै क्यापिटलले नवौँ वार्षिक साधारणसभामा प्रस्ताव गरेको लाभांशसहित आफ्नो सेयरधनीलाई हालसम्म दुई सय ९० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको जानकारी पनि कम्पनीले दिएको छ ।