काठमाडौं । शाओमीले दुई नयाँ आकर्षक मोडल रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा सात हजार मेगाहर्ज क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ । यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८ वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ । फोटोग्राफीप्रेमीहरूका लागि यसमा ५० एमपी एआई डुअल क्यामेरा प्रणाली र ८ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली स्न्यापड्रागन ६८५ चिप, उन्नत हाइपर ओएस२ र गुगल जेमिनीका साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । साथै, यसमा दुई टीबीसम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ ।
यस्तै, रेडमी १५सी आफ्नो सात दशमलव ९९ एमएम स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको छ हजार एमएएच क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा दुई वर्षको वारेन्टी उपलब्ध गराएको छ । यसमा छ दशमलव नौ इन्चको एचडी डिस्प्ले र एक सय २० हर्ज रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । यसमा पनि ५० एमपी एआई डुअल क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा उपलब्ध छन् ।
रेडमी १५ सीमा पनि एक टीबीसम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम हाइपर ओएस२ र गुगल एआईका सर्कल टु सर्च तथा जेमिनीजस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, आईपी६४ सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।
रेडमी १५ तीन आकर्षक रंगमा उपलब्ध छ । यसको मूल्य क्रमशः ६/१२८ जीबी १८ हजार नौ सय ९९ रुपैयाँ र ८/दुई सय ५६ जीबी २१ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै, रेडमी १५ सीको मूल्य ४/१२८ जीबीको १४ हजार नौ सय ९९ रुपैयाँ, ६/१२८ जीबीको १६ हजार चार सय ९९ रुपैयाँ र ८/२५६ जीबीको १८ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।