काठमाडौं । अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको बिक्री–वितरण गर्दै आएको प्राइम एसोसिएट्स जोन डियरे ग्रुपअन्तर्गत विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरुको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विटगन ग्रुपका एमडी, सीईओ रमेश पलागिरी र प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले यससम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेका हुन् । सो अवसरमा नयाँ ग्राहकलाई ती उपकरणको चाबी समेत हस्तान्तरण गरिएको थियो । सो अवसरमा एमडी, सीईओ रमेश पलागिरीले विश्वमै उत्कृष्ट निर्माण उपकरण मानिने विटगन ग्रुपअन्तर्गतका इक्विपमेन्ट नेपाली बजारमा धेरै ग्राहकले रुचाइरहेको र आगामी दिनमा यसको प्रयोग अझै बढ्ने अपेक्षा गरिएको थियो ।
प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले हाल नयाँ ब्रान्डमार्फत नेपाली ग्राहकलाई थप गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । प्राइम एसोसिएट्सले सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसरलगायतको कारोबार गर्दै आएको छ । साथै, कंक्रिटिङका लागि चाहिने सेल्फ लोडिङ मिक्सचर समेत उपलब्ध गराइरहेको छ । हाल विश्वका विभिन्न देशमा विटगन कम्पनीका उत्कृष्ट तथा विश्वसनीय उत्पादन सडक निर्माण तथा पुनर्स्थापना कार्यका लागि बिक्री–वितरण भइरहेका छन् । विटगन ग्रुपबाट उत्पादित विटगन, भोग्ले, ह्याम र क्लिम्यानलगायतका विभिन्न ब्रान्डका उपकरणहरू नेपालका विभिन्न परियोजनालगायत सम्पूर्ण आधारभूत संरचना निर्माणका लागि गुणस्तरयुक्त मेसिन/औजार भएको कम्पनीको दाबी छ ।
नेपालको सडक निर्माणमा विश्वसनीयता प्राप्त गरेका ह्यामका डबल ड्रम रोलर र स्वायल कम्प्याक्टर, भोग्लेका सडक पेभिङ गर्ने मेसिनका साथै विटगन ब्रान्डको मिलिङ मेसिन र सर्फेस माइनर जस्ता उपकरण उपलब्ध छन् । क्लिम्यानका उत्पादनहरु ढुंगा क्रसिङ गर्न तथा खानी सञ्चालन गर्न, खानीमा खनिएका ढुङ्गा तथा खनिजहरुलाई सानो बनाउन प्रयोग गरिन्छ ।
यसैबीच, ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी लन्च गरिएको छ । ह्याम ब्रान्ड सडक निर्माणको क्रममा प्रयोग हुने रोलर र स्वाइल कम्प्याक्टरको विशेषज्ञ नै मानिन्छ । विभिन्न भेरिएन्टमा उपलब्ध हुने सो मिनी रोलरमा दुई भाइब्रेटिङ रोलर ड्रम उपलब्ध छन् । सो रोलरमा बेस्ट इन क्लास पावर र इको–फ्रेन्ड्ली इन्जिन टेक्नोलोजी छ । वजनलाई चारैतिर बराबर फैलाउन र अन–सेन्टर फिल गराउनका लागि थ्री–पोइन्ट आर्टिक्युलेसन उपलब्ध छ ।