काठमाडौं । सोल्टी होटल्स एन्ड रिसोट्र्सले आफ्नो ‘वेस्टेन्ड’ ब्रान्डअन्तर्गत मधेश प्रदेशमा सोल्टी वेस्टेन्ड रिसोर्ट वीरगञ्ज ब्रान्डमा नयाँ होटल व्यवस्थापन तथा सञ्चालन गर्ने भएको छ ।
कम्पनीले प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्ने भएको हो । सोल्टीबाट व्यवस्थापन गरिने नयाँ होटेल सोल्टी वेस्टेन्ड रिसोर्ट वीरगञ्ज हिमाल वाटरपार्क एन्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको छ । यसलाई सोल्टी होटल्स एन्ड रिसोर्टको सुप्रसिद्ध ब्रान्ड सोल्टी वेस्टेन्ड रिसोर्ट, वीरगञ्जको नामबाट सञ्चालन गरिने छ । हिमाल वाटरपार्क एन्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको यो होटल वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक बाहुअरी वीरगञ्जमा अवस्थित रहेको छ, जुन नेपालकै प्रमुख औद्योगिक तथा व्यावसायिक केन्द्रमध्येको एउटा प्रमुख सहर हो । नेपालको प्रमुख आर्थिक मेरुदण्ड मानिने राष्ट्रिय राजमार्गसँगै जोडिएको र वीरगञ्ज अन्तर्राष्ट्रिय सीमा नाकाको परिधि क्षेत्रसम्म सजिलै पुग्न सकिनेजस्ता रणनीतिक अवस्थाले गर्दा यो भौगोलिक क्षेत्र स्वदेशी तथा विदेशी दुवै प्रकारका पर्यटक, व्यावसायिक पाहुना तथा बिदा मनाउन आउने अतिथि यात्रुहरूको आकर्षक गन्तव्यको रुपमा रहेको छ ।
सोल्टी वेस्टेन्ड रिसोर्ट वीरगञ्ज मंसिर–पुसदेखि व्यवस्थापन तथा सञ्चालनमा आउने तयारीमा रहेको छ । सोल्टी वेस्टन्ड रिसोर्ट वीरगञ्जले सहरको पर्यटकीय तथा कर्पोरेट पाहुनाहरुमा आधुनिक आतिथ्य सेवामा नयाँ आयाम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । हिमाल वाटरपार्क एन्ड भिलेज होटल लिमिटेडको यस होटेलमा अतिथि पाहुना कोठाहरूको आधुनिक शैली र आधुनिकतम पर्यटकीय सुविधाहरुको उत्कृष्ट संयोजनलाई ध्यानमा राख्दै आधुनिक तथा उत्तम सन्तुलित ढंगले डिजाइन गरिएका छन् । होटेलमा सुविधा सम्पन्न क्यासिनो भवनसहितको सुविधा उपलब्ध रहेको छ । साथै, होटलभित्र आधुनिक बार तथा विकल्पसहितको बहुआयामिक भोजन तथा व्यञ्जनको विविध स्वादका परिकारहरुले पाहुनाहरूलाई आकर्षित गर्नेछ ।
होटेलमा व्यावसायिक कार्यक्रमहरू तथा सभा समारोहहरूका लागि पर्याप्त क्षमता भएको सभाहलसहित व्यावसायिक बैठक, प्रीतिभोज तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्नका लागि बैठक कक्षहरू उपलब्ध रहनेछन् । होटलमा स्विमिङ पुल, पूर्णरूपमा सुसज्जित हेल्थ क्लब र शान्त स्पा रहनेछन् । होटेलको व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एन्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष, सुदर्शन चापागाईं र हिमाल वाटरपार्क एन्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिल कुमार खेतानबीच औपचारिकरूपमा हस्ताक्षर गरिएको छ ।