काठमाडौँ । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताएका छन् । उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताए ।
महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताए ।
नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिदै महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए । उनले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताउँदैपार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको जनाए ।
महासचिव पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसङ्ग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताउनुभयो ।
“पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्”, उहाँले भन्नुभयो । उहाँले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने जानकारी दिए ।
बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावका आधारमा आज प्रतिवेदनलाई पारित गर्ने र जवाफका क्रममा सुझाव नछुटोस् भनेर थप छलफल गरेर दस्तावेज बनाइने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अहिले छुटेका कुरालाई पछि समेटिने बताए ।