काठमाडौँ,काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन्। फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बालेनले माइतीघरमा आयोजना हुन लागेको उक्त प्रदर्शन पूर्णतः स्वतःस्फूर्त भएको भन्दै आफ्नो “भरपुर समर्थन” रहेको बताएका हुन्। उनले भने,"भोलिको र्‍याली स्पष्ट स्वस्फूर्त रूपमा जेनजीहरूको हो। उहाँहरू भनेको २८ वर्ष मुनिका युवाहरू हुनुहुन्छ, जसकालागि म पनि अझै बुढो देखिन्छु। मलाई उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ। उमेर हदबन्दीका कारण म सहभागी हुन सक्दिनँ, तर मेरो समर्थन छ।" बालेनले कुनै पनि राजनीतिक दल, नेता, सांसद वा अभियन्ताले युवाहरूको आन्दोलनलाई आफ्नो स्वार्थ पूर्ति गर्ने माध्यम नबनाउन आग्रह गरेका छन्। साथै, उनले जेनजीलाई सम्बोधन गर्दै प्रश्न पनि गरेका छन् —"प्रिय जेनजी भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?" जेनजी पुस्ताले सामाजिक सञ्जाल टिकटकमार्फत अभियान चलाउँदै सोमबार माइतीघरमा प्रदर्शनको आह्वान गरेका हुन्। उनीहरूले सामाजिक सञ्जाल बन्दको प्रयास र मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै छन्।