काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेको छ। सन् १९९७ देखि २०१२ बीच जन्मिएका जेनजी पुस्ताका युवाहरूले बिहान ९ बजेदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गर्ने कार्यक्रम तय गरेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति प्रदान गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले माइतीघर क्षेत्रमा हुने प्रदर्शनलाई स्वीकृति दिँदै आवश्यक परेमा सुरक्षाकर्मीको संख्या पनि बढाइने जानकारी दिए।
जेनजी पुस्ताले केही दिनदेखि सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गर्दै आएका थिए। आइतबार माइतीघरमै बसेर युवाहरूले छलफल गरी सोमबार बिहान ९ बजेतिर भेला भई ११ बजेदेखि मार्चपास गरी बानेश्वरसम्म पुग्ने योजना बनाएका छन्।सहभागी एक युवाले भने, “हामीले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हो। बिहान ९ बजे भेला भई ११ बजे बानेश्वरसम्म मार्च गर्ने तयारी छ। यसमा कुनै एक आयोजक छैन, साना समूहहरू भेला भएर सहभागी हुने हो।” प्रदर्शनको क्रममा भाषण नगरी नाचगान लगायत सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको उनले बताए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनलाई समर्थन जनाए पनि आफू उपस्थित नहुने बताएका छन्। त्यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागी हुने बताएका थिए। तर, जेनजी पुस्ताका युवाहरूले प्रसाईंको सहभागितामा आपत्ति जनाउँदै उनलाई कार्यक्रममा नआउन आग्रह गरेका छन्।