काठमाडौं ।नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जाल बन्दको विरोधमा आज आयोजना हुने जेनजीहरूको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्। लामिछानेले आफ्नो निजी सचिवालयमार्फत जेनजीहरूलाई सन्देश पठाउँदै घुसपैठबाट सचेत रहन र विवेकपूर्ण ढंगले प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। ‘सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले भनेका छन्, ‘आजको दिन इतिहासको नयाँ सुरुवातको दिन हो। घुसपैठ हुनसक्छ, सचेत हुनुहोस्। उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्।’ उनले प्रदर्शनमा सहभागी हुने सबैलाई शुभेच्छा, सद्भाव र ऐक्यबद्धता पनि प्रकट गरेका छन्।लामिछानेले जेनजीहरूलाई शासक वर्गबाट सावधान रहन आग्रह गर्दै भनेका छन्, ‘आजबाट तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनसक्छ। शासकहरूले तपाईंहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी(दुःख, सफलता(असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसेका छन्। तपाईंहरूको आफ्नै इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ।’ यसअघि रास्वपाले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनलाई नबिथोल्न सबैलाई खबरदारी गरेको थियो।