काठमाडौं । फाइनान्स कम्पनीहरुमा पछिल्लो समय निष्क्रिय कर्जा उच्च वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा फाइनान्स कम्पनीहरुले कुल एक खर्ब ३१ अर्ब ४४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर त्यसको ११ दशमलव शून्य पाँच प्रतिशत अर्थात् ११ अर्ब ५१ करोड २१ लाख ११ हजार रुपैयाँ ऋण उठ्न नसकेको हो ।
अघिल्लो आवको तुलनामा यो एक दशमलव १८ प्रतिशत अर्थात् एक अर्ब ६७ करोड २६ लाख ९० हजार तीन सय रुपैयाँले बढी निष्क्रिय कर्जा हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुले कुल एक खर्ब २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये नौ दशमलव ८७ प्रतिशत अर्थात् नौ अर्ब ८३ करोड ९५ लाख एक हजार सात सय रुपैयाँ बराबरको कर्जा निष्क्रिय थियो ।
कुनमा कति कर्जा निष्क्रिय ?
नेपाल राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा मञ्जुश्री फाइनान्समा तीन दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यो तीन दशमलव २२ प्रतिशत थियो । त्यसैगरी, पोखरा, आईसीएफसी र समृद्धि फाइनान्समा पनि गत आवमा क्रमशः चार दशमलव ५९, एक दशमलव ८३ र नौ दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय छ । अघिल्लो आवमा यी फाइनान्सहरुमा क्रमशः १० दशमलव शून्य एक, तीन दशमलव ६८ र २० दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय थियो ।
त्यसैगरी, सेन्ट्रल, गुह्येश्वरी मर्चेन्ट र गोर्खाज फाइनान्समा पनि गत आवमा क्रमशः १४ दशमलव १८, छ दशमलव १६ र १६ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी फाइनान्सहरुमा क्रमशः १३ दशमलव ३९, छ दशमलव ३१ र १२ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय थियो । गत आवमा श्री इन्भेस्टमेन्ट, मन्टिपर्पस र बेस्ट फाइनान्समा भने क्रमशः दुई दशमलव ५७, पाँच दशमलव ४७ र आठ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय छ । अघिल्लो आवमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ८६, चार दशमलव ३४ र पाँच दशमलव ९७ प्रतिशत थियो ।
रिलायन्स र नेपाल फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः नौ र नौ दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः छ दशमलव ४७ र १३ दशमलव ४२ प्रतिशत रहेको थियो । गुडविल र प्रोग्रेसिभ फाइनान्समा भने गत आवमा क्रमशः पाँच दशमलव ७६ र चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । अघिल्लो आवमा यी फाइनान्सहरुमा क्रमशः चार दशमलव ८९ र आठ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।