काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र काउले भाइनयार्ड रिसोर्ट प्रालिबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । एक कार्यक्रमका बीच काउले भाइनयार्ड रिसोर्टका तर्फबाट निर्देशक इन्द्रवीर महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
संस्थागत परामर्श सेवासहित पुँजी संरचना परिवर्तन तथा व्यवस्थापनलगायतका कार्य गर्न आवश्यक परामर्श दिने तथा कम्पनीको प्रबन्धपत्रमा उल्लिखित उद्देश्यबमोजिम कार्य गर्न आवश्यक सहजीकरणको लागि उक्त सम्झौता गरिएको हो । सम्झौतापत्रमा सार्वजनिक निष्काशनको तयारी तथा व्यवस्थापनको लागि महत्वपूर्ण पक्षहरू समावेश गरेको रिसोर्टका अध्यक्षले जानकारी गराएको छ ।
धादिङमा रहेको काउले भाइनयार्ड रिसोर्ट नेपालको पहिलो अंगुरखेतीमा आधारित पर्यटनस्थल तथा नेपालको वाइन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य लिएको रिसोर्टका अध्यक्षले जानकारी गराएको छ । वाइन प्रेमी, प्रकृति पारखी, विश्राम चाहने र नयाँ स्वाद तथा अनुभवको खोजीमा रहेका आगन्तुकहरूका लागि यो रिसोर्ट एक उत्कृष्ट गन्तव्य बन्ने लक्ष्यमा अघि बढिरहेको छ, जसले आगन्तुकहरूलाई अन्तर्राष्ट्रिय स्तरको वाइन र भाइनयार्ड अनुभव प्रदान गर्दछ ।
काउले भाइनयार्ड रिसोर्टले आधुनिक प्रविधि र परम्परागत शैलीलाई मिश्रण गरी अंगुर खेती र वाइन उत्पादनका साथै पर्यटकलाई अंगुर बगैँचाको अवलोकन, वाइन टेस्टिङ, स्थानीय परिकार, होम–स्टे अनुभव र प्रकृति नजिकको विश्रामको अवसर प्रदान गर्दछ । केवल वाइन उत्पादनमा सीमित नभई, ग्रामीण रोजगारी सिर्जना, कृषक सशक्तीकरण, दिगो पर्यटन र समुदाय विकासमा समेत सक्रिय रहने र यसले पर्यटकलाई नेपालकै मौलिक स्वाद र संस्कृति अनुभव गर्ने मौका दिने मात्र नभई, देशको कृषि र पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन योगदान दिने समेत अध्यक्षले जानकारी गराएको छ ।