काठमाडौं । अबदेखि पाँच प्रतिशतभन्दा बढी सेयर खरिदको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई दिनुपर्ने भएको छ । आइतबार सूचीकृत कम्पनीहरुको नाममा नेप्सेले यस्तो सूचना जारी गरेको हो । यसअनुसार एउटै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको पाँच प्रतिशत वा सोभन्दा धेरैको सेयर खरिद गरेमा त्यसको जानकारी नेप्सेलाई दिनुपर्ने भएको हो । निर्देशनअनुसार कुनै एउटा व्यक्ति, संस्था वा कम्पनीले संगठित संस्थाको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गरेमा त्यसको जानकारी तत्काल नेप्सेलाई दिनुपर्नेछ ।
त्यस्तै, सूचीकृत संस्थाले लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेन पनि आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र उपलब्ध गराउनुपर्नेछ । नेप्सेका अनुसार प्रतिसेयर आम्दानी, मूल्य आय अनुपात, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, प्रतिसेयर कुल सम्पत्तिको मूल्य र तरलता अनुपातसम्बन्धी विवरणसहितको त्रैमासिक विवरणका लागि भने त्रैमास सकिएको एक महिनाको समय दिइएको छ । यदि कम्पनीले बुक क्लोज गर्दै छ भने पनि सोको जानकारी नेप्सेमा एक हप्ता अगाडि नै दिनुपर्ने नेप्सेको निर्देशनमा उल्लेख छ ।
१० करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्रीसम्बन्धी निर्णय, सञ्चालक समिति, लेखापरीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, लेखा विभाग प्रमुख, लेखापरीक्षक हेरफेर भएमा पनि त्यसको जानकारी तुरुन्तै नेप्सेलाई दिनुपर्नेछ भने १० करोड रुपैयाँ वा सोभन्दामाथिको दायित्व वहन गर्नुपर्ने सम्भावना भएको मुद्दा अदालतमा दायर भएमा पनि नेप्सेलाई जानकारी गराउनुपर्नेछ । सूचीकृत सामूहिक लगानी कोषको योजना व्यवस्थापकले योजनाको खुद सम्पत्ति मूल्य तथा लगानीसम्बन्धी अवस्थाको मासिक विवरण पनि प्रत्येक महिना समाप्त भएको पन्ध्र दिनभित्र नेप्सेमा पेस गर्नुपर्नेछ । सूचीकृत संगठित संस्थाको सञ्चालक समितिले संस्था गाभ्ने गाभिने वा विलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा त्यस्तो निर्णय गरेकै दिन वा भोलिपल्ट कारोबार सुरु हुनुअघि नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।
यसबाहेक आर्थिक वर्ष समाप्त भएको तीन महिना (असोज मसान्त) भित्र वार्षिक नवीकरण शुल्क बुझाउन, प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले संगठित संस्थाको दैनिक काम कारबाही रोक्नुपर्ने भएमा सोको जानकारी यथासम्भव छिटो माध्यमद्वारा दिन पनि नेप्सेले निर्देशन दिएको छ । संगठित संस्थाको व्यावसायिक प्रकृतिमा कुनै परिवर्तन गर्ने, त्यसको सबै वा आंशिक स्वामित्व बिक्री गर्ने वा अन्य कुनै संस्थाको बहुमत स्वामित्व खरिद गर्ने कुनै प्रस्ताव पारित भएमा सोसम्बन्धी निर्णयसहितको जानकारी तुरुन्त नेप्सेलाई दिनुपर्नेछ ।
संगठित संस्थाले आफ्नो रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेमा, संगठित संस्थाले कुनै सञ्चालक वा अन्य कुनै व्यक्ति वा संस्थालाई नगदको सट्टा कुनै सेयर दिएमा पनि त्यसको जानकारी नेप्सेलाई दिनुपर्नेछ । संगठित संस्थाले वार्षिक साधारणसभा वा विशेष साधारणसभामा पेश गरिने वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा अन्य जानकारी विवरण र छलफलका विषयसूची भएमा अनिवार्यरुपमा उपलब्ध गराउनुपर्ने नेप्सेले निर्देशन दिएको छ ।
संगठित संस्थाले साधारणसभामा पेश भएका प्रस्ताव, छलफल भएका विषय तथा निर्णयसम्बन्धी विवरण पनि साधारणसभा समाप्त भएको एक महिनाभित्र उपलब्ध गराउन नेप्सेले निर्देशन दिएको छ ।