काठमाडौं । राजधानी आसपासका क्षेत्रमा बढ्दो आगलागी र सुरक्षाजन्य जोखिमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मंगलबार दिउँसोदेखि पूर्ण रूपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारसहितका क्षेत्रमा भइरहेका निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षामा समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार आकासमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा अवतरण गराएपछि बाँकी सबै उडानहरू रद्द गर्दै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो ।विमानस्थल परिसरमा नेपाली सेनाको अतिरिक्त बल परिचालन गरिएको छ भने सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै उडान प्रभावित भएका कारण यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थलमा नगइ बस्न आग्रह गरिएको छ ।