काठमाडौं । जेनजी आन्दोलन थप उग्र बन्दै गएसँगै नक्सालस्थित हिल्टन होटलमा मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको प्रहरीले पुष्टि गरेको छ । सोमबारदेखि सुरु भएको जेनजीको प्रदर्शन आज दोस्रो दिनमा प्रवेश गर्दै झन् आक्रामक बनेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन चर्किएको छ । आन्दोलनकारीहरूले शीर्ष नेताहरूका निवास, पार्टी कार्यालय र प्रहरी कार्यालय नजिक लगातार ढुंगामुढा गरिरहेका छन् । प्रहरी बलले स्थिति नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएको र अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । काठमाडौंमा अहिले पनि विभिन्न स्थानमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ भने केही क्षेत्रहरूमा स्थिति तनावपूर्ण बनेको छ ।