काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक तथा सामुदायिक नेत्र स्वास्थ्यका प्रणेता डा। सुन्दुक रुइतले जेनजी आन्दोलनमा सहभागी युवापुस्तालाई संयमित रहन अपिल गरेका छन्। असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको दाबी गर्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी वा क्षति पुर्याउनु परिवर्तनको पक्षमा नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई सम्बोधन गर्दै डा. रुइतले लेखेका छन्, “परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।”
डा. रुइतले वर्तमान आन्दोलनलाई सकारात्मक नतिजामा परिणत गर्न सबै नागरिक मिलेर देश जोगाउन र बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले परिवर्तनको सम्भावना देखिएकाले संयम, एकता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका छन्। यसअघि पनि डा। रुइत विभिन्न सामाजिक मुद्दाहरूमा धारणा व्यक्त गर्दै आएका छन्। जेनजी आन्दोलनसँगै देशको राजनीतिक परिदृश्य अस्थिर बन्दै गएका बेला उनको यो अपिलले आन्दोलनकारी युवापुस्तालाई संयमता अपनाउन सन्देश दिने अपेक्षा गरिएको छ।