काठमाडौं । जेनजी आन्दोलन तीव्र बनेसँगै राजधानीमा सुरक्षा अवस्था अत्यन्तै संवेदनशील बन्दै गएको छ। सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाको कडा सुरक्षा घेरामा राखी मंगलबार सरकारी निवास बालुवाटारबाट अज्ञात स्थानतर्फ सारिएको पुष्टि गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता अहिले सेनाको विशेष सुरक्षा व्यवस्थामा अज्ञात स्थानमा रहेका छन्। भैंसेपाटीस्थित निवासबाट हेलिकप्टरमार्फत उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहितका मन्त्रीहरू पनि सेनाकै सुरक्षामा रहेका छन्।
यसबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादम्पती भने आफ्नै निवासमा फसेका छन्। आगजनीका कारण निस्कन नसकेका देउवा दम्पतीमाथि आन्दोलनकारीको आक्रमण भएको सेनाले जनाएको छ।सैनिक प्रवक्ताका अनुसार राजधानीमा तीव्र गतिमा बिग्रिँदो परिस्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षा रणनीति तयार पारिँदैछ। “परिस्थितिको गहिरो मूल्यांकन भइरहेको छ, आवश्यक परे कठोर कदम चालिनेछ,” प्रवक्ताले बताएका छन्। यसअघि सिंहदरबार, संसद् भवन, पार्टी कार्यालय र विभिन्न सरकारी संरचनामाथि आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। राजधानीलगायत देशभर उच्च सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मीहरूलाई सतर्क रहन आदेश दिइएको छ।